स्पार्क हाइड्रो पावरले निर्माण गर्न लागेको कुल १०१ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको काम चालु आर्थिक वर्षभित्रै सुरु गरिने भएको छ ।
ताप्लेजुङ जिल्लाको फुङलिङ गाविसमा आयोजनास्थल रहेको सो आयोजनामा नेपाली र युरोपेली लगानीकर्ताको संयुक्त लगानी रहने र आगामी मङ्सिरबाट निर्माण कार्य सुरु गरिने सो आयोजनाका प्रमुख भानेन्द्रकुमार लिम्बुले जानकारी दिए ।
कुल रु १८ अर्ब लागत रहेको सो आयोजनामा स्थानीयवासीलाई बिना कुनै शर्त १० प्रतिशत सेयर प्रदान गरी सहभागी गराइने छ ।
आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकाइसकेको र त्यसको प्रतिवेदन पनि केही दिनभित्रै प्राप्त हुने बताइएको छ । आयोजनामा लगानी गर्न हङकङमा रहेका नेपालीले पनि चासो देखाएको जानकारी दिँदै आयोजनाका प्रमुख लिम्बुले स्पार्क हाइड्रो सहयोग समितिको नाममा लगानी जुटाउने काम भइरहेको बताए ।
‘प्रमुख रुपमा नेपाली लगानीकर्तालाई प्राथमिकता दिने गरी काम अगाडि बढाउने तयारी गरेका छौँ, त्यसमा हङकङमा रहेका नेपाली र स्थानीयवासी प्रमुख लगानीकर्ताका रुपमा रहने छन् भने सहायक लगानीकर्ताका रुपमा युरोपेली लगानीकर्ता रहनेछन्,’ प्रमुख लिम्बुले भने ।
मेची राजमार्गको ताप्लेजुङ खण्डको अधेरी भन्ने स्थानबाट आयोजनास्थल केवल चार किलोमिटर मात्रै टाढा रहेको र सो स्थानमा समेत ग्रामीण सडक परियोजनाले सडक निर्माण गरिसकेको छ ।
सो सडकको स्तरोउन्नति गर्ने कामसमेत आयोजनाले नै गर्ने बताइएको छ । ताप्लेजुङ जिल्लाको फुङ्लिङ, खोक्लिङ, लिङतेक र लिवाङ गाविस आयोजनाका कारण प्रभावित हुनेछ ।
नदी प्रवाहमा आधारित सो आयोजना तत्काल सुरु गर्न स्थानीयले दबाब दिएको प्रमुख लिम्बुले जानकारी दिए ।
चालु आर्थिक वर्षको मङ्सिरबाट सुरु गरी ४ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको सो आयोजनाबाट उत्पादन गरिएको विद्युत् ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा सवस्टेसन निर्माण गरेर केन्द्रीय प्रसारणमा जोडिने छ ।
सो आयोजनाको प्रगति प्रतिवेदन तथा नवीकरण दस्तुर विद्युत् विकास विभागमा बुझाइसकिएको जानकारी दिँदै प्रमुख लिम्बुले केही समयभित्रै उत्पादन अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रबाट निर्माण गर्न लागिएको सो आयोजना पूर्वाञ्चल क्षेत्रको हालसम्मकै ठूलो हो । रासस
प्रकाशित मिति: 2013-07-18 16:01:12