अर्थसचिव सुमनप्रसाद शर्माले अबको कर प्रशासन निजीक्षेत्र मैत्री रहेको बताएका छन्। उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समिति तथा वीरगञ्ज उद्योग वाणिज्य सघंले आयोजना गरेको राजस्व चुहावट तथा व्यापार सहजीकरण विषयक अन्तरक्रिया कार्यक्रम अर्थसचिव शर्माले यस्तो धारण व्यक्त गरेका हुन्।
उनले अर्थतन्त्रलाई मजबुत तुल्याउन निजी क्षेत्रले नेतृत्वदायी भूमिका लिनुपर्ने बताउँदै राजश्व चुहावटमा देखिएका समस्याहरुको सामाधानमा सबैको सहयोगको आवश्यकता रहेको बताए। कार्यक्रममा राजस्व, कर, भंसार जस्ता निकायहरुलाई व्यावसायिक एवम् दक्ष बनाउन तालिम प्रदान गर्ने, स्थानीयस्तरमा देखिएका कर राजस्वसँग सम्बन्धित समस्याहरुलाई निदानका लागि फास्ट ट्रयाक डेस्कको स्थापना, वीउवासङ्घबाट प्रस्तुत कार्यपत्रले उठान गरेका सुझाव र समस्याहरुप्रति अर्थ मन्त्रालयले गम्भीरतापूर्वक लिएको सचिव शर्माले स्पष्ट पार्दै नीतिगत समस्याहरुलाई समय सापेक्ष परिमार्जन गर्दै लैजाने बताए।
स्वागत मन्तव्यको क्रममा वीउवासङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले भंसार, कर, राजस्व प्रशासन निजी क्षेत्र मैत्री हुनुपर्ने कुरामा जोड दिएका थिए। अध्यक्ष केडियाले मुलुकका सामु विद्यमान अस्थिर राजनीतिक अवस्था, बढ्दो लोडसेडिङ, भारत तथा तेश्रोमुलुकहरुसँग आयात निर्यातको बढ्दो आर्थिक दूरी, उद्योग र व्यापारको खस्किदो अवस्था, न्यून आर्थिक बृद्धि दरका साथै राजस्व प्रशासन सम्बन्धी नीतिगत एवम् व्यावहारिक समस्याहरु औल्याएका थिए।
विद्यमान अवस्थालाई सुधार गर्दै तथा समस्याहरुलाई सम्बोधन गर्ने तर्फ सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएका थिए। भंसार विभागका महानिर्देशक शिशिर कुमार ढुंगाना, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, राजस्व व्यवस्थापन महाशाखाका सह–सचिव लक्ष्मण अर्याल, सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वय शैलेन्द्र खनाल र रामशरण पौडेल, प्रहरी नायब महानिरीक्षक श्री गोविन्द निरौला, राजस्व अनुसन्धान विभागका निर्देशक लिला शर्माले सङ्घबाट उठान भएका विषयहरुलाई सम्बोधन गर्ने तर्फ आवश्यक पहल गरिने आश्वाषण व्यक्त गरेका थिए।
कार्यक्रममा वीरगन्ज उधोगवाणिज्य सघंका अध्यक्ष प्रदीपकुमार केडियाले भंसार, सचिव अनिल पटवारीले मूल्य अभिवृद्धि कर, सदस्य माधव राजपालले आयकर सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए। यसैगरी सङ्घका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य अशोककुमार टेमानी र बरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्माले राजस्व चुहावट तथा व्यापार सहजीकरण सम्बन्धी विविध आयामका बारेमा आफनो धारण व्यक्त गरेका थिए।
राजस्व अनुसन्धान विभागका महानिर्देशक बालकृष्ण घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्दै राजस्व प्रशासनलाई समय सापेक्ष र व्यावसायिक तुल्याउने तर्फ आवश्यक पहल गर्ने बताएका थिए। कार्यक्रममा स्थानीय भंसार कार्यालय, आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख र उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो।