नेपाल वायुसेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ ले आजदेखि भारतको राजधानी नयाँदिल्लीमा पहिलो व्यावसायिक उडान सुरु गरेको छ।
भारतीय आकाशमा उडानका लागि अनुमति नपाएकाले यसअघि गत मङ्गलबार उडान स्थगित भएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको जहाजले बिहान ८ः३० बजे दिल्लीका लागि उडान भरेको थियो। दिल्लीका लागि १०१ यात्रुले टिकट काटेका थिए भने जहाज आजै १२ः१५ बजे दिल्लीबाट ५० यात्रु लिएर काठमाडौँ फर्कने निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए।
उनका अनुसार निगमले दिल्लीका लागि सातामा चार दिन दुईतर्फी उडान गर्ने र थप गन्तव्यमा समेत उडान सुरु गरिनेछ।
हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ। निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज (सगरमाथा) नेपाल भित्र्याएको थियो।
निगमले नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडा दर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा ताकेको छ। निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो। रासस