माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको स्थानीयले पाउनुपर्ने १० प्रतिशत सेयरसम्बन्धी विवाद सोमबारबाट सुल्झिएको छ ।
दोलखालीले पाउने ७० कित्ताका दरले समान रूपमा आवेदन गर्ने व्यवस्था गर्न जिल्लाको हकमा चैत १ गतेदेखि सेयर सङ्कलन सुरु गर्ने सहमती भएको छ । सहमती अनुसार प्रत्येक गाविस र नगरपालिकाका वडाका साथै काठमाडौँमा समेत सेयर सङ्कलनको व्यवस्था गर्ने, प्रभावित क्षेत्र लामाबगर र गौरीशङ्करवासीलाई समान ३०० कित्ता सेयर आवेदन माग गर्ने जनाइएको छ ।
यस्तै विदेशमा रहेका दोलखाली नागरिकका लागि सहज प्रबन्ध मिलाउने व्यवस्था गर्ने, आयोजनाको लगानी बढ्न गएमा बढेको रकम सरकारी निकाय र दोलखावासीले नै लगानी गर्ने जस्ता बुँदामा निर्णय गर्दै सेयर विवाद सुल्झिएको हो।
जिल्लाका राजनीतिक दल रहेको सेयर बाँडफाँडसम्बन्धी जिल्ला समन्वय समिति दोलखाकोे बैठकले आयोजनाले आह्वानपत्र प्रकाशित गर्दा समन्वय समितिलाई कुनै जानकारी नगराई आह्वान गरेको भन्दै रद्द गर्न माग गरेपछि आयोजनाका प्रमुख, नागरिक लगानी कोषका प्रमुख र धितोपत्र बोर्डको प्रमुखसहितको उपस्थितिमा बैठक बसी सेयर विवाद सुल्झिएको हो।
४५६ मेगावाटक्षमता रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २०७३ साल मङ्सिर मसान्तबाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । रासस