महाकाली किनारमा अवस्थित ब्रह्मदेव मण्डी (बजार) को इतिहास कैयौं वर्ष पुरानो छ । यो परापूर्वकालमा सुदूर तथा मध्यपश्चिमका बासिन्दाहरुले किनमेल गर्ने मुख्य थलो हो ।
महाकाली नदीको पश्चिमतर्फ भारतीय पूरानो बजार टनकपुर र पूर्वतर्फ ब्रह्मदेव मण्डी रहेको छ ।
कुनै समयमा महिना दिन पैदल हिँडेर सर्वसाधारणले यसै मण्डीबाट वर्षभरीका लागि सामान खरिद गरेर लैजान्थे । उनीहरुले मुख्य गरी नून, तेल, फलाम, लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुहरु खरिद गर्ने गर्थे ।
तत्कालिन समयमा भारतबाट आयात भएका सामानहरु नेपालीले किन्ने गरिन्थ्यो । खासगरी ती सामानहरु बेच्ने पनि अधिकांश भारतीय नागरिक नै थिए । उनीहरु ब्यापार व्यवशायको क्रममा ब्रह्मदेव पुगेका थिए ।
तर अचेल ब्रह्मदेव मण्डीमा खरिद बिक्री हुने सामान, ब्यापारी र उपभोक्ताहरु बदलिएका छन् । हिजोआज त्यहाँ नेपाली नागरिकले ब्यापार व्यवशाय गरिरहेका छन् ।
परापूर्व कालमा नून, तेल, फलाम, लत्ताकपडा लगायतका सामान पाईने यस बजारमा अचेल चाईनीज सामानका साथै केही नेपाली उत्पादनको खरिद बिक्री हुने गरेको छ । उपभोक्ता समेत नेपालीका ठाउँमा भारतीय नागरिक भएका छन् ।
यसको प्रमुख कारण बाटोघाटोको सुविधा हो । समयसँगै सुदूर तथा मध्यपश्चिमका हरेक जिल्लामा बाटोघाटो पुगेको छ । बाटोघाटोको सुविधासँगै दैनिक उपभोग्य वस्तुहरु पनि घरआँगनमै उपलब्ध हुन थालेका छन् ।
जसका कारण ब्रह्मदेव मण्डीको ब्यापार व्यवशाय घट्दै गयो । सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लाबाट सर्वसाधारण हाट जाने चलन हरायो । सामान खरिद गर्न सर्वसाधारण आउन छोडेपछि ब्रह्देव मण्डीको ब्यापार ठप्प हुन पुग्यो ।
‘सबैतिर बाटोघाटो पुगेपछि सामान किन्नका लागि यहाँ आउने कुरै भएन’ ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष श्यामदत्त जोशीले भने–‘केही वर्षसम्म त यो ठाउँ सुनसान भएको थियो ।’
बाटोघाटोको विकाससँगै सुक्दै गएको ब्रह्मदेव मण्डीको ब्यापार सन् १९९२ पछि भने हराभरा हुन थाल्यो । कारण थियो महाकाली नदीमा निर्माण भएको पक्की पुल । यो पुल बनेपछि ओहोर दोहोरमा निकै सहज भयो ।
भारतीय नागरिक आउन थालेपछि ब्रह्मदेव मण्डीमा ब्यापार व्यवशाय विस्तारै फस्टाउन थाल्यो । त्यहाँ नेपाली उत्पादनका साथै चाईनिज सामानले समेत बजार लिन थाल्यो । भारतीय नागरिकले समेत यी सामान रुचाउन थालेपछि कुनै समयमा नून, तेल, फलाम, लत्ताकपडाको कारोबार हुने ब्रह्मदेव मण्डी नेपाली उत्पादन र चाईनिज सामानले भरिएको छ । यहाँ करिव डेढ सय पसल छन् ।
यतिबेला मण्डीका हरेक पसलमा तिनै सामान मात्रै बिक्रीका लागि राखिएका देख्न सकिन्छ । ‘अरु सामान बिक्री नै हुँदैन’ ब्यापारी सरला पाण्डेले भनिन्–‘धेरैजसोले चाईनिज सामान मात्रै खोज्ने गर्छन ।’
विगत १३ वर्षदेखि कष्मेटिक र रेडिमेट पसल सञ्चालन गर्दैै आएकी पाण्डेका सबै ग्राहक भारतीय मात्रै हुन ।
पारीपट्टी पूर्णागिरीमा दर्शन गर्नेले ब्रह्मदेवमा रहेको सिद्धबाबा मन्दिरमा दर्शन गरे मात्रै पूर्णता पाईने धार्मिक विश्वास रहेको छ । पूर्णागिरीमा दर्शन गर्न जाने धेरैजसो दर्शनार्थीहरु सिद्धबाबा मन्दिरमा दर्शनका लागि आउने गरेका छन् । जसका कारण पनि ब्रह्मदेव मण्डीमा वर्षको केही महिना निकै ठूलो कारोबार हुने गर्छ ।
‘बैशाख÷जेठ महिनामा त मण्डीमा खुट्टा राख्ने ठाउँ समेत हुँदैन’ अध्यक्ष जोशीले भने–‘पूर्णागिरीमा दर्शन गर्ने मध्ये करिव ७५ प्रतिशत दर्शनार्थी यहाँ आउने गरेको पाईन्छ ।’
भारतको प्रख्यात धार्मिक स्थल मध्येको एक पूर्णागिरीमा वर्षेनी हजारौंको संख्यामा दर्शनार्थीहरुले दर्शन गर्ने गर्छन् । त्यहाँ भारत र नेपालका नागरिकहरु दर्शन गर्न जाने गरेको पाईन्छ ।
जोशीले सिद्धबाबा मन्दिरको दर्शन गर्न आउने भारतीय नागरिकले किनमेल समेत गर्ने भएकाले त्यो समयमा कारोबार बढ्ने गरेको बताए ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्ने ब्रह्मदेव बजारसँग किसान नेता स्वर्गीय भीमदत्त पन्तको इतिहास जोडिएको छ । पन्तले क्रान्तिको सुरुवात यसै क्षेत्रबाट गरेका थिए । उनले क्रान्तिकै क्रममा ब्रह्मदेव मण्डी लुटेको स्थानीयको भनाई छ ।
‘भीमदत्तले मण्डी लुटेर सर्वसाधारणलाई बाँडेका थिए’ स्थानीय जयदेव भट्टले भने–‘त्यसकारण पनि भीमदत्तको क्रान्तिसँग मण्डी जोडिएको छ ।’
स्वर्गीय पन्तले क्रान्तिको सुरुवात गरेकै कारण ब्रह्मदेव मण्डीको चौराहामा उनको शालीक निर्माण गरिएको छ । २०६२/०६३ को आन्दोलन पछि महेन्द्रनगर नगरपालिकाको नाम समेत परिवर्तन गरेर भीमदत्त नगरपालिका राखिएको हो ।