पेट्रोलियम पदार्थको मूल्य घटेपछि सिरहा जिल्लामा पेट्रोलको अभाव सिर्जना भएको छ । यहाँका व्यवसायीले आ–आफ्नो पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ लेखेर बिक्री बन्द गरेका छन् । व्यवसायीहरू पेट्रोल लुकाएर ‘छैन’ भनिरहेका छन्।
लहानस्थित बजरङ्ग तेल बिक्री केन्द्र, शारदा आयल स्टोर्स, पडरियास्थित फूलबारी आयल स्टोर्स, छपराडीस्थित उग्रचण्डी तेल बिक्री केन्द्रलगायतका सिरहाका सबै पेट्रोल पम्प बन्द छन्। पेट्रोल नपाउँदा जनता मर्कामा परेका छन् । मोटरसाइकल चलाउनेहरू बढी समस्यामा परेका छन् ।
लहानमा बस्दै आएका हकपाडा गाविसका दिलीप दासले पेट्रोल नपाएर समस्यामा परेको बताए। पेट्रोल कुनै पनि पम्पले नदिएपछि घरसमेत जान नपाएको उनले बताए।
उनले भने, “घर जाँदै थिएँ । लहानमा पेट्रोल नपाएपछि बाटोमा भेटिहाल्छ भनेर निस्केँ । करिब पाँच किलोमिटर नजाँदै मोटरसाइकलमा तेल सकियो । गुडाएर छपराडी लगेँ । त्यहाँ पनि नभेटेपछि गाडी नचिनेकै घरमा राखेर लहान फर्केको छु।”
“लहानदेखि छपराडीसम्म राजमार्गमै पर्ने पाँचवटा पेट्रोल पम्पमा गएँ तर कसैले पेट्रोल दिएनन्”, दासले भने, “सरकारले मूल्य बढाउँदा अभाव हुँदैन । मूल्य घटाएपछि कसरी सबै पेट्रोल पम्पमा एकैपटक तेल सकियो ?” व्यवसायीले जानीजानी पेट्रोलको अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजेको उनको आरोप छ।
नेपाल आयल निगमले शुक्रबार साँझ पेट्रोलमा रु सात र डिजेलमा सात रुपैयाँ ५० पैसा घटाएको छ। मूल्य घटेपछि पेट्रोल रु ११६ र डिजेल ९० रुपैयाँ ५० पैसामा बिक्री गर्नुपर्ने हो । तर मूल्य घटेपछि व्यवसायीले पेट्रोल र डिजेलको अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजेका छन्।
यता सिरहाका प्रमुख जिल्ला अधिकारी मो अब्दुल कलाम खाँले पेट्रोलपम्प बन्द रहेको कुरा आफूलाई थाहा नभएको बताए। उनले भने, “पेट्रोल छ भने बेच्नुपर्ने हुन्छ । खै के हो म बुझ्न लगाउँछु ।” रासस