देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आईफोन ६ र आईफोन ६ प्लस लगायतका एप्पलका प्रिमियम मोवाइल सेटहरु नेपाली बजारमा भित्र्याएको छ।
कम्पनीले एनसेलको सिम तथा डेटा अफरसँग बन्डल गरेर आईफोन ६ र आईफोन ६ प्लसका १६ जी.बी., ६४ जी.बी. र १२८ जी.बी.का तीन फरक मोडलहरु एक कार्यक्रम माँझ शुक्रवार सार्वजनिक गरेको हो।
”आफ्ना ग्राहकका लागि डेटा बन्डलसँगै एप्पलका प्रिमियम ब्राण्ड आईफोन नेपालमै पहिलो पटक सार्वजनिक गर्न पाउँदा हामी हर्षित छौं । नेपाली तथा अन्तर्राष्ट्रिय टप ब्राण्ड बीचको यो सहकार्यले हाम्रा ग्राहकका लागि विशेष मूल्य श्रृजना गर्ने विश्वास छ,” एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्।
बन्डल अफर अन्तर्गत एनसेलले आईफोन ६ र आईफोन ६ प्लसका सेट खरिद गर्ने ग्राहकलाई सिमसँगै ६ महिनासम्म प्रत्येक महिना १ जी.बी. डेटा निःशुल्क उपलब्ध गराएको छ।
ग्राहकले हाल आईफोन ६ को १६ जी.बी. सेट रु ८३ हजार ९९९ मा, ६४ जी.बी. सेट रु ९४ हजार ४ सय ९९ मा र १२८ जी.बी. सेट रु १ लाख ७ हजार ९ सय ९९ मा खरिद गर्न सक्छन् । साथै आईफोन ६ प्लसको १६ जी.बी. सेट रु ९४ हजार ४ सय ९९ मा, ६४ जी.बी. सेट रु १ लाख ७ हजार ९ सय ९९ मा र १२८ जी.बी. सेट रु १ लाख २० हजार ९ सय ९९ मा खरिद गर्न सक्छन् । सेटको मूल्य अमेरिकी डलरको परिवत्र्य दर अनुसार फरक पर्न सक्ने एनसेलले जनाएको छ।
उनसेलका अनुसार ग्राहकले नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालय बैंक र नबिल बैंकको सहज किस्तामा पनि सेट खरिद गर्न सक्छन् ।
“एप्पलले नेपालमै पहिलो पटक आधिकारीक रुपमा आफ्ना सेटहरु भित्र्याएकोले ग्राहकले अब विक्री पश्चातका सेवा तथा एप्पलको विश्वव्यापी वारेन्टिको लाभ प्राप्त गर्नेछन्,” एनसेलका बिटुबि निर्देशक प्रणय राज पाण्डेले भने।
एनसेलका ग्राहकले एनसेलको डेटा बन्डल अफर रहेका यि आईफोनका सेट कृष्ण टावर, दरवारमार्ग, महाराजगञ्ज, कुमारीपाटी, चावहिल, कलंकी र वनेपा लगायतका सात एनसेल सेन्टरबाट खरिद गर्न सक्छन्। एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले यि सेटहरु खरिद गर्दा प्राप्त हुने डेटा अफर एनसेल सेन्टरबाट आफ्नै विद्यमान नम्बरमा पनि प्राप्त गर्न सक्छन्।
एनसेलको कृष्ण टावरस्थित एनसेल सेन्टरबाट आईफोन ६ प्लस खरिद गर्दा तिनकुनेका प्रकुल कुमार नेपालमै पहिलो आधिकारीक आईफोनका ग्राहक भएका छन् । उनी तथा नयाँ वानेश्वरका विशाल कार्की (दोस्रो आईफोन ६ प्लस खरिदकर्ता) लाई सेन्टरमै आयोजीत एक कार्यक्रममा एनसेलकी ग्राहक सम्बन्ध निर्देशक सोमा थापाले आईफोन ६ प्लस सेट हस्तान्तरण गरीन्। साथै एनसेलले आफ्ना कर्पोरेट ग्राहकका लागि एक कार्यक्रम बिच आईफोन सेटहरु सार्वजनिक गरेको थियो ।
साँझमा भएको कार्यक्रममा ग्राहकले एक्सपिरिएन्स जोनमा आईफोनका विभिन्न सेटमा एनसेलको सेवाको अनुभव लिँदै नजीकैको सेल्स जोनबाट सेट खरिद गरेका थिए । बन्डल अफर अर्को सूचना नआउन्जेल जारी रहने एनसेलले जनाएको छ ।