सशस्त्र प्रहरीको बीओपी मटिहानीले बिहिबार महोतरीको मटिहानी गाबिसबाट दश केजी चाँदीसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने भारत बिहार राज्यको मधुबन्नी जिल्लाको मधवापुर वडा नं ४ बस्ने दिलिप कुमार साह र बडा नंम्बर ८ बस्ने रोशन कुमार साह रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महोतरीका सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्र पाण्डेले बताए्।
चाँदी बोकेर भारत तर्फ जाँदै गर्दा चेक जाँचको क्रममा सशस्त्र प्रहरीले मटिहानी ८ स्थित महावीर मंदिर नजिक दुवै जनालाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय महोतरीले पत्रकार सम्मेलनको आयोजना गरी चाँदीसहित पक्राउ परेकोबारे जानकारी गराएको हो।
सशस्त्र प्रहरीको बीओपी मटिहानीका सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेलको कमाण्डमा रहेको प्रहरी टोलिले सुराकीको आधारमा चेक प्वाईन्ट खडा गरी चेकजाँच गर्ने क्रममा ६ वटा प्लाष्टिकको ब्यागभित्र मसिनो दाना आकारमा रहेको १० केजी चाँदीको थैलो बरामद गरेको हो।
अनुमानित ७ लाखको चाँदीसहित दुवै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयले राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले बताए।