पश्चिम नेपाल बस व्यवसायी संघको २० औं साधारणसभा तथा अधिवेशन नजिकै आईरहँदा व्यवसायीहरुका बिचमा चुनावी सरगर्मी बढ्दै जान थालेको छ।
यही कात्तिक २१ र २२ गते हुने अधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन हुने भएपछि यातायात व्यवसायीहरुका बिचमा संघको अधिवेशनको चर्चाले व्यापकता पाउन थालेको हो।
अन्य समयमा राजनीतिक भन्दापनि व्यवसायिक हक हितको लागि एकजुट हुनुपर्छ भन्ने यातायात व्यवसायीहरु अधिवेशन नजिकै आउँदा भने राजनीतिक रुपमा नै छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी प्रचारमा जुटेका छन्।
जसमा एमाले निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्चको तर्फबाट गणेश बहादुर भट्टराईले नेतृत्व गरेका छन् भने नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी निकट व्यवसायीहरुले दधिराम खरेलको नेतृत्वमा संयुक्त प्यानल खडा गरेको छ।
एमालेको तर्फबाट एकल प्यानलको नेतृत्व गरेका भट्टराई संघको हाल वरिष्ठ उपाध्यक्ष छन् भने संयुक्त प्यानलको नेतृत्व गरेका खरेल हाल संघको अध्यक्ष हुन्।
एकल प्यानलमा वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष धु्रवराज अर्याल र गोपालबहादुर पौडेल, महासचिव जीवनकुमार बञ्जाडे, सचिव रमेशचन्द्र श्रेष्ठ, सहसचिव एकदेव खनाल र गोविन्द कँडेल तथा कोषाध्यक्षमा कुश्माखर रेग्मीको नाम घोषणा गरिएको छ।
त्यस्तै संयुक्त प्यानलमा वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर खड्का, उपाध्यक्षद्वय उपेन्द्रमान श्रेष्ठ र लोकनाथ न्यौपाने, महासचिव पदमराज गाहा, सचिव रामचन्द्र भुसाल, सहसचिवद्वय मोहन पीएस र सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्ष किशोर सुवेदी छन्।
देशकै ठूलो यातायात व्यवसायीको संस्था मात्र नभई वार्षिक करोडौंको बजेट परिचालन गर्ने संस्था भएकोले पनि संघको नेतृत्वमा जान हरेक अधिवेशनको समय व्यवसायीहरुका विचमा निकै प्रतिष्पर्धा हुने गर्छ।
आफू निकटको व्यक्तिले संघको नेतृत्व सम्हाल्न पुगे राजनीतिक गतिविधिमा समेत बेलाबेलामा सहयोग पुग्ने भएपछि राजनीतिक दलहरुले पनि संघको अधिवेशनलाई आफ्नो प्रतिष्ठासँग जोडेर महत्वका साथ लिने गरेका छन्।
अधिवेशनबाट ९ पदाधिकारी सहित विभिन्न रुटबाट गरि ३१ सदस्यीय कार्यसमिती निर्वाचित हुने छन्। ४८ सदस्यीय कार्यसमितिमा बाँकी सदस्य मनोनित गर्ने संघको विधानले व्यवस्था गरेको छ।
कुल २ हजार २ सय २४ मतसंख्या रहेको संघको अधिवेशनमा अन्य पदभन्दा अध्यक्षमा कडा प्रतिष्पर्धा हुने देखिएको छ।
अध्यक्षका प्रतिष्पर्धी खरेल र भट्टराई दुवैले आ आफ्नो जित सुनिश्चित रहेको दावी गर्दै आएका छन्।
यातायात व्यवसायीहरुको हक हित र रक्षाको लागि आफ्नो उम्मेदवारी रहेको बताउने भट्टराईले विगतमा यातायात व्यवसायीहरुको पक्षमा काम गर्दै आएको आधारमा आफूलाई व्यवसायीहरुले मत दिने दावी गर्छन्।
“व्यवसायी रहेमात्र संस्था रहन्छ व्यवसायी बिनाको संस्थाको कुनै महत्व हुँदैन। विगतमा पनि म व्यवसायीहरुकै पक्षमा काम गर्दै आएँ अब पनि मेरो पहिलो प्रयास व्यवसायीहरुको हक हित र रक्षा गर्नु हुने छ,' भट्टराईले भने।
“राज्यले व्यवसायीमाथि थिचोमिचो तथा जुन भेदभाव गरेको छ त्यसको अन्त्य गर्नको विगतका काम गरेको आधारमा व्यवसायीहरुले मलाई मत दिने छन्,” भट्टराईलेे दाबी गरे।
उता अध्यक्षका अर्का प्रत्यासी खरेलले आर्थिक रुपमा सम्पन्न भएको संघको संस्थागत विकासको लागि अझैपनि एकपटक आफ्नो नेतृत्व आवश्यक रहेको बताउँछन्।
“विगतमा भन्दा मेरो कार्यकालमा संघ आर्थिक रुपले सम्पन्न भएको छ। आर्थिक रुपमा सम्पन्न भएको संघको संस्थागत विकास गर्नको लागि पनि मेरो नेतृत्व आवश्यक छ,” खरेलले भने।
खरेलले विगतमा आफूले गरेका राम्रा कामहरुको मूल्यांकनको आधारमा व्यवसायीहरुले आफुलाई मत दिने दाबी गर्छन्।
एमाले निकट व्यवसायीहरुका तर्फबाट गत वर्ष कमजोर उम्मेदवार उठाईएका कारण १ हजार २३ मत ल्याई अध्यक्षमा विजयी बनेका खरेललाई यस पटक भने त्यति सहज नहुने स्वयं एमाले निकट व्यवसायीहरु बताउँछन्।
एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका भट्टराई अघिल्लो अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा १ हजार १ सय ८७ मत प्राप्त गरेका थिए।
व्यवसायीहरुका बिचमा अध्यक्षका उम्मेदवार भट्टराई सरल तथा खरेल निडर व्यवसायिका रुपमा चिनिन्छन्।