नेपाल वायुसेवा निगम र भूटानको ड्रुक एयरलाइन्स कार्पोरेशनबीच मंगलबार कोड शेयर सम्झौता भएको छ। निगमको इतिहासमा यस प्रकारको यो नयाँ अभ्यास हो।
यस प्रकारको सम्झौतामा एउटा कम्पनीको विमान सेवालाई अर्को कम्पनीले व्यापारिक सम्झौता गरी पारस्पारिक हितमा काम गरिन्छ।
ड्रुक एयरले काठमाडौं–मुम्वई–काठमाडौंबीच गरिने उडानमा ड्रुक एयरले अपरेटिङ्ग क्यारियर र नेपाल वायुसेवा निगमले मार्केटिङ्ग क्यारियरको रुपमा सेवा सञ्चालन गर्नेछन्।
सम्झौतामा नेपाल वायुसेवा निगमका तर्फबाट कमर्सियल डाइरेक्टर श्री रामहरि शर्मा र ड्रुक एयरका तर्फबाट कमर्सियल जनरल म्यानेजर श्री नाम्गे वाङ्चुकले हस्ताक्षर गरेका थिए।