नेपाल र भारतबीच केही समयअघि सम्पन्न विद्युत् व्यापार सम्झौता (पिटिए)मा आज अन्तिम हस्ताक्षर सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय ऊर्जा सचिव प्रदीपकुमार सिन्हाले उक्त सम्झौताको हस्ताक्षर गरेका छन्।
सो अवसरमा ऊर्जा मन्त्री राधाकुमारी ज्ञवाली र मुख्य सचिव लीलामणि पौडेल तथा नेपालका लागि भारतीय राजदूत रञ्जित रायको पनि उपस्थिति रहेको थियो।
दुई मुलुकबीच गत भदौ १९ गते उक्त सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो। दुवै मुलुकको मन्त्रिपरिषद्को बैठकले केही समय पहिले पिटिएको मस्यौदालाई अनुमोदन गरिसकेको छ। पूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएसँगै आजैदेखि उक्त सम्झौता पूर्ण रुपमा कार्यान्वयनमा आउने छ।
हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जा सचिव क्षेत्रीले नेपालमा जारी ऊर्जा सङ्कट समाधान गर्न अब महत्वपूर्ण आधार तयार भएको बताए।
भारतबाट विद्युत् ल्याउन अन्तर्देशीय प्रसारण लाइन निर्माणको काम पनि अगाडि बढिरहेको जानकारी दिँदै उनले ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन निर्माण सम्पन्न भएपछि उल्लेख्य मात्रामा विद्युत् आयात तथा निर्यात गर्न सकिने बताए।
सम्झौता कार्यान्वयनमा देखिएका जटिलता हटाउन दुवै मुलुकबीच ऊर्जा सचिव स्तरीय विशेष संयन्त्र गठन गरिएको र सहसचिव स्तरमा पनि कार्यदल गठन गरिएको उल्लेख गर्दै सचिव क्षेत्रीले सम्झौताले विद्युत् व्यापारका लागि मार्ग प्रशस्त गरेको बताए।
ऊर्जा सचिव स्तरीय संयन्त्रको बैठक वर्षमा एकपटक र सहसचिव स्तरीय बैठक वर्षमा दुईपटक बस्ने सम्झौतामै उल्लेख गरिएको छ।
आगामी तीन वर्षभित्र मुलुकको ऊर्जा सङ्कट हल गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै उनले वर्षाकालमा बढी भएको विद्युत् भारतलाई बेच्ने र कम भएको समयमा भारतबाट आयात गर्न पनि सहज वातावरण निर्माण भएको बताए।
भारतीय ऊर्जा सचिव सिन्हाले नेपालको जलविद्युत्को विकासका लागि भारत खुला हृदयका साथ सहयोग गर्न तयार रहेको बताए।
उनले सम्झौताले भारत र तेस्रो मुलुकमा समेत नेपालले विद्युत् व्यापार गर्ने मार्ग प्रशस्त भएको जानकारी दिँदै कुनै समस्या आए समाधान गर्न दुवै देशले सहमति खोज्ने बताए।
उनले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्द्धक सतलज विद्युत् निगमसँग केही समयभित्रै परियोजना विकास सम्झौता (पिडिए)मा हस्ताक्षर हुनेसमेत जानकारी दिए।रासस