पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार पोखरामा शान्ति र्यालीको आयोजना गरियो। केही महिनाअघि न्यूयोर्कबाट शुरु भएको उक्त शान्ति र्याली शनिबार पोखरा आइपुगेको हो। न्यूयोर्कबाट शुरु भएको र्याली जापान हुँदै नेपाल भित्रिएको हो। नेपालमा यसअघि काठमाडौं र भक्तपुरमा दुईदिन शान्ति र्यालीको आयोजना गरिएको थियो। पोखरामा आयोजित र्यालीको पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेशकुमार थपलियाले विश्व शान्तिको कामनासहित न्युयोर्कबाट पोखरा आइपुगेको र्यालीले समाजमा शान्ति र अमनचयनमा टेवा पुर्याउने बताए।
विश्वभर अहिंशा र हत्याका घटनाहरु भइरहेको र त्यसबाट मुक्ति प्राप्त गर्नका लागि यस्ता कार्यक्रमले विषेश भूमिका निभाउने उनको भनाइरहेको थियो। पोखराको प्रशिद्ध धार्मिकस्थल बिन्ध्यवासिनी मन्दिर परिसरबाट शुरु भएको र्याली मोहोरियाटोल, भैरवटोल, नालामुख, पालिखेचोक, महेन्द्रपुल, नयाबजार, पृथ्वीचोक, रंगशाला, रंगशालाबाट पुन पृथ्वीचोक, नागढुंगा, एयरपोर्ट, पार्दी, राष्ट्रबैङक, बैदाम, हुदै फेवाताल किनारमा रहेको फुट ट्रयाक हुदै हल्लनचोकमा रहेको क्याम्पिङ चौरमा पुगी समापन भएको कार्यक्रम संयोजक पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले जानकारी दिए।
र्यालीलाई भैरवटोलमा आइपुग्दा भैरव सांस्कृतिक संरक्षण समितिले बाजागाजासहित स्वागत गरेको थियो भने पोखरा रंगशालामा पुग्दा विभिन्न खेलकुदमा आवद्ध संस्थाहरु कास्की जिल्ला खेलकुद विकास समिति, खेलकुद मञ्च, टेनिस संघ लगायतका संस्थाहरुले स्वागत गरेका थिए।
र्यालीमा ५० जना बढी मानिसहरुको सहभागिता रहेको थियो भने ८ जना विदेशी पर्यटकको समेत सहभागीता रहेको थियो। र्यालीको समापन गर्दै पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यबहादुर भुजेलले यस्ता कार्यक्रमले पोखरामा शान्ति अमनचयनको बातावरण सृजना गर्न सहयोग पुग्ने बताए।