मापदण्ड विपरीत पेट्रोलियम पदार्थको बिक्री गरी उपभोक्तालाई ठगेको भन्दै नवलपरासीका चारवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ।
नापतौल विभागको नेतृत्वमा आएको टोलीले सदरमुकाम परासीसहित कुस्मा गाविसका पाँचवटा पेट्रोलपम्पमा अनुगमन गरिएकामा चारवटामा मापदण्डविपरीत बिक्री–वितरण गरी उपभोक्ता ठगी गरेको पाइएपछि ती पेट्रोलपम्प सिल गरिएको हो।
नापतौल विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चलगायतका प्रतिनिधिसहितको टोलीले परासीको पायल आयल स्टोर्स, अग्रहरि जनरल स्टोर्स तथा कुस्माको जयसवाल जनरल स्टोर्स, रामसनई स्टोर्स र पटेल जनरल स्टोर्सले सञ्चालन गरेका पेट्रोलपम्पमा अनुगमन गरेको हो।
तीमध्ये अग्रहरि जनरल स्टोर्सबाहेक सबै मापदण्डविपरीत सञ्चालनमा रहेकाले सिलबन्दी गरी कारबाही अगाडि बढाइएको अनुगमन टोलीका सदस्य चिरिञ्जीवी अर्यालले जानकारी दिए। रासस