कृषि विकास बैंकका कर्मचारीको सेवा सुविधा वृद्धि, विनियमावली संशोधन तथा शाखा प्रमुखसम्मको ट्रेड युनियन अधिकार सुनिश्चित गराउनुपर्नेलगायतका माग राख्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आन्दोलन गर्दै आएका छन्।
बैंक व्यवस्थापन र कर्मचारी युनियनसँग गरेको प्रतिबद्धता र सहमति पूरा नगरिएको भन्दै सङ्घले यही भदौ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको हो।
सङ्घका संयोजक यज्ञ भट्टराईले आफ्ना मागलाई सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए।
उता बैंकका प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले कर्मचारीको मागलाई व्यवस्थापनले सम्बोधन गरिसकेको उल्लेख गर्दै पूर्वाग्रही भएर नियतबस गरिएको आन्दोलनले बैंक तथा कर्मचारीलाई फाइदा नगर्ने भएकाले आन्दोलन फिर्ता लिनुपर्ने बताए।
त्यसैगरी सङ्घका पूर्व अध्यक्ष एकराज आचार्यले बैंक सञ्चालन समितिका अध्यक्ष एवम् व्यवस्थापनले राजिनामा दिनुपर्ने उल्लेख गर्दै सङ्घसँग भएका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका थिए।
सङ्घले उत्पादन थप व्यवस्था, खाजा खर्च, उत्प्रेरणा भत्ता, पोसाक खर्च वृद्धि, आधिकारिक ट्रेड युनियनको निर्वाचन, ठूला परियोजनामा लगानीको विश्वासलगायतका माग राख्दै आएको छ। रासस