तरकारी मूल्य आकासिएको छ । तरकारीको मूल्य आकासिएपछि उपभोक्ताहरु महंगो रकम तिरेर भएपनि तरकारी किनेर खान बाध्य भएका छन् । अहिले तरकारीको मूल्य झन्डै दोब्बर बढेको व्यवसायी तथा उपभोक्ताहरुले बताएका छन् ।
सामान्यतया २० रुपैयाँमा पाइने आलुको मूल्य प्रतिकेजी अहिले ४५ छ । रातो आलु प्रतिकेजी ४५ रुपैयाँ पुगेको छ भने सेतो आलु ३६ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार आलुको मुल्य प्रतिकेजी ४८ पुगेको थियो । गोलभेडा पनि बढेर अहिले ४० रुपैयाँ किलो पुगेको छ ।
कालीमाटी फफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याज प्रतिकेजी ४०, गाँजर ४०, कोभी १२, लोकल काउँली ४०,सोयाविन ४८ र च्याउ १ सय ६८ रुपैयाँ पुगेको छ । तरकारी व्यवसायी भरत खतिवडाका अनुसार अहिले तरकारीको सिजन नेपालमा अफ भएका कारण महंगिएको हो ।
उनका अनुसार अहिले अन्य दिनको तुलनामा तरकारीको मूल्य झन्डै दोब्बर बढेको छ । तरकारी व्यवसायी दधिराज उप्रेतिका अनुसार आलु अहिले सबै भारतबाट आउँछ । भारतबाट आउने भएका कारण महंगिएको उनले बताए ।
उनका अनुसार अन्य तरकारीको मूल्यमा पनि वृद्धि भएको छ । कालीमाटीबाट तरकारी होलसेलमा ल्याएर बेच्ने पसले तथा ठेलागाडा व्यवसायीहरुले अझ मंहगो रुपैयामा तरकारी बेचिरहेका छन् । व्यवसायीहरुका अनुसार तरकारीको मूल्य दशैपछि सस्तिनेछ ।