लहानस्थित एक व्यापारीले चोरेर राखेको ग्याँस सिलिण्डर। तस्विर : सन्तोष कुमार
ग्यासको अभाव देखाएर व्यापारीहरुले कालोबजारी सुरु गरेको छ। अभावका कारण उपभोक्ताहरु बाध्य भएर तोकेको मुल्य भन्दा बढी मुल्य तिरेर ग्यास किन्न बाध्य बनेका हुन्।
सरकारले प्रति ग्याँस सिलिण्डरको खुद्रा मूल्य रु. १४ सय ७० कायम गरेपनि अहिले यहाँका बजारहरुमा प्रति सिलिण्डर रु. १८ सयदेखि २ हजारसम्ममा खरिद विक्री भईरहेको छ। तर नियमणकारी निकाय भने मौन बसेका छन्। नियमनकारी निकायले केहि नगर्दा व्यापारी खुलेयाम यो धन्दामा लागका हुन्।
व्यापारीहरु अहिले अवैध सानो सिलिण्डरमा ग्यास भर्न सुरु गरेका छन्। ठूलो सिलिण्डरको सिल ब्रेक गरी किलो हिसाबले सानो सिलिण्डरमा भर्दा बढी नाफा हुन्छ। बढी नाफाको लोभमा सुरक्षा दृष्टिकोणले अति संवेदनशिल मानिने सानो सिलिण्डरमा जोखिम मोलेर ग्याँस भर्ने गरेको देखिन्छ।
सानो सिलिण्डरमा कुनै पनि कम्पनीको नाम उल्लेख गरिएको हुँदैन्। यो सिलिण्डरको प्रयोग गर्दा कुनै पनि दुर्घटना भएमा क्षतिपूर्ति कतैबाट पाइदैन्। ठूलो सिलिण्डरबाट सानो सिलिण्डरमा ग्यास भर्न पर्दा अत्यन्तै जोखिम हुन्छ। दुर्घटनाको सम्भावना उच्च रहन्छ। त्यसैले नेपालमा सानो सिलिण्डरको प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको भएपनि व्यापारीहरु बढी नाफा कमाउने लोभमा अवैध रुपमा ग्यास भर्छन्।
ठूलो सिलिण्डरको रु. १४ सय ७० सरकारले खुद्रा मुल्य तोकेको छ। यसमा १५.४ केजी ग्याँस हुन्छ। यस हिसाबले प्रति किलो ९५ रुपैया ४५ पैसा पर्छ। तर ठूलो सिलिण्डरको सिल ब्रेक गरेर अहिले व्यापारीहरु प्रति किलो रु. १५० देखि २ सय सम्ममा विक्री गरिरहेका छन्। यसरी खुल्ला रुपमा विक्री गर्दा एउटै सिलिण्डरमा रु. ८४० देखि रु. १६१० नाफा हुन्छ। त्यसैले जोखिम मोलेर भएपनि व्वयापारीहरुले अवैध मानिने सानो सिलिण्डरमा ग्यास भरेर विक्री गरिरहेका छन्।
यसरी व्यापारीहरु खुलेयाम अवैध धन्दामा लागेर मालामाल बनिरहेका छन् भने उपभोक्ताहरु मर्कामा परेका छन्। तरपनि स्थानीय प्रशासन कानमा तेल हालेर सुतेका छन्। बजार विगत लामो समयदेखि अनुगमन भएको छैन्।
राष्ट्रिय उपभोक्ता मञ्चका सिरहा अध्यक्ष रामानन्द गुप्ताले वास्तवमा अवैध तथा सुरक्षा दृष्टिकोणले खतरनाक रहेका साना सिलिण्डरमा ग्यास भरेर विक्री वितरण गर्ने गरेको बताए। उनले भने, 'सानो सिलिण्डरको प्रयोग गर्दा सुरक्षा खतरा हुन्छ। यसको नियन्त्रण गर्न प्रशासनले सक्रियता देखाउनुपर्छ।’
विद्यार्थीहरुले सानो सिलिण्डरको प्रयोग बढी मात्रामा गर्ने गरेको पनि उनले बताए। 'ठूलो सिलिण्डर खरिद गर्दा विद्यार्थीहरु बढी आर्थिक मारमा पर्छन्, उनले भने, 'कम खर्च पर्नाले अवैध र खतरा भएपनि सानो सिलिण्डर नै प्रयोग गर्छन्। त्यसैले नेपाल सरकारले सानो सिलिण्डरको गुणस्तर बढाएर यसमाथिको प्रतिबन्ध नै फुकुवा गर्नुपर्छ।’
सिरहा, धनुषा र महोत्तरीमा अभाव
सिरहा, धनुषा र महोत्तरीमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ। महोत्तरी र सर्लाही जोड्ने रातु पुल भासिएर राजमार्ग अवरुद्ध भएपछि ग्यासको अभाव भएको हो।
सिरहा भन्दा बढी समस्यामा धनुषा र महोत्तरीका उपभोक्ता परेका छन्। सिरहाका इटहरीबाट कोशी ग्यास आएपनि धनुषा र महोत्तरी जादैनन्। सिरहामा आउने कोशी ग्यासको व्यापारीहरु चोरेर कृत्रिम अभाव गरी बढी नाफा लिएर विक्री गर्ने गरेको उपभोक्ताहरु गुनासो गर्छन्।
वीरगञ्ज र बाराबाट ग्याँस आपुर्ती नहुँदा यहाँका बजारहरुमा ग्याँसको चरम अभाव भएको उपभोक्ताहरुले बताएका छन्। ग्याँस अभावका कारण सबै उपभोक्ता मर्कामा परेका छन्। तर विशेष गरी बजारमा डेरा गरी बस्ने विद्यार्थी र कर्मचारीहरु बढी मर्कामा परेका छन्।
अहिले बजारका करिब ९० प्रतिशत जनता ग्यासमा निर्भर छन्। बजारमा दाउराको अभाव भएकोले अधिकांश व्यक्ति ग्यासमै निर्भर छन्।