रोल्पामा गत वर्षहरुको इतिहास पच्छाउँदै यो आर्थिक वर्षमा पनि ठूलो रकम फ्रिज गएको छ। चालु तर्फको १ अर्ब ८३ करोड ३० लाख ४२ हजार ४ सय ७६ रुपैयाँ ४८ पैसा र पूजिगत तर्फको ४७ करोड ९८ लाख ७३ हजार ७ सय १० रुपैयाँ मध्येबाट १४ करोड फ्रिज भएको छ।
आर्थिक वर्षको अन्त्यमा आउने 'बजेट निकासा', कार्यालयका कर्मचारी, निर्माण व्यवसायी, उपभोक्ता समितिहरुको लापरबाहीका कारण पनि ठूलो रकम फ्रिज भएको आरोप रोल्पालीहरु लगाउँछन्।
आन्तरिक आम्दानी न्यून रहेको जिल्ला विकास समिति लगायत कर्मचारीका लागि आर्थिक हिसाबले आकर्षक मानिएका भवन डिभिजन कार्यालय, सडक कार्यालयहरुले ठूलो रकम फ्रिज गराउने गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कले देखाएको छ।
'आर्थिक वर्षको अन्त्यमा बजेट निकासा आउनु मूख्य कारण भएको' बताउने रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष किशोर आचार्य 'बजेट फ्रिज जानुमा केन्द्रको दोष बढि रहेको' बताउँछन्।
'केन्द्रबाटै बजेट निकासा ढिलो हुन नै ठूलो समस्या हो। बजेट खर्चको प्रकृया झन्जटिलो र लामो भएका कारण पनि कठिनाई रहेको' अध्यक्ष आचार्य बताउँछन्।
'विगत वर्षदेखि नै बजेट फ्रिज जाने क्रम छ। बजेट आउँछ। तर, कार्यान्वयन गर्ने निकाय उपभोक्ता समिति, निर्माण व्यवसायी, कर्मचारीले सहि तरीकाले कार्यान्वयन नर्गनाले फ्रिज बढि हुने गर्दछ' पत्रकार हीराबहादुर घर्ती बताउँछन्।
'असार लागेपछि बढी भन्दा बढि रकम खर्च हुने गर्दछ। नीति भन्दा पनि व्यहारिक समस्या हो' पत्रकार घर्ति सुनाउँछन।
रोल्पा जिल्लाको विकासका लागि आर्थिक वर्ष ०७०/७१ मा आएको विकास बजेट पूजिगत तर्फ ६ करोड २ लाख ३३ हजार ९ सय १४ रूपैया ७३ पैसा र चालुतर्फ ८ करोड ३१ लाख ५१ हजार ३ सय ७० रुपैया ७८ पैसा गरी १४ करोड ३३ लाख ८५ हजार २ सय ८५ रुपैया ५१ पैसा खर्च हुन नसकी फिर्ता भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७०/७१ मा सहरी विकास मन्त्रालय अर्न्तगत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र खानेपानी तथा सव डिभिजन कार्यालयलाई १८ करोड १३ लाख ३७ हजार रकम निकासा भएको मध्ये ३ करोड २५ लाख १५ हजार ९६ रुपैया फिर्ता भएको छ।
भौतिक योजना निर्माण तथा यातायात मन्त्रालय अर्न्तगत शहीद मार्ग सडक आयोजनालाई १४ करोड ४० लाख निकासा भएको मध्ये ५१ लाख ४९ हजार ९ सय ४९ रुपैया ४८ पैसा फिर्ता भएको छ।
यस्तै गृहमन्त्रालय अन्तर्गत जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय रोल्पा र कारागार कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, लगायत इलाका प्रहरी कार्यालय रोल्पालाई १ करोड १८ लाख ५९ हजार २ सय १० रुपैयाँ निकासा भएको मध्यबाटे ५८ लाख ६७ हजार ६ सय १३ रुपैया फिर्ता भएको छ।
रोल्पा जिल्ला अदालतलाई ६० लाख बजेट निकासा भएको मध्ये ४२ लाख ९२ हजार ९ सय ८३ रुपैया फिर्ता भएको छ।
कृषि विकास मन्त्रालय अर्न्तरगत जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यालय रोल्पालाई ४९ लाख ७५ हजार बजेट निकासा भएको मध्येे १ लाख १२ हजार ५२ रुपैया ५० पैसा फिर्ता भएको छ।
यस्तै बन तथा भू–संरक्षण मन्त्रालय अन्तर्गत जिल्ला वन कार्यालय रोल्पा र जिल्ला भू– संरक्षण कार्यालय रोल्पामा १ करोड ९३ लाख ५१ हजार ५ सय निकासा भएको मध्ये २४ लाख ७६ हजार २ सय ८१ रुपैया २० पैसा फिर्ता गएको छ।
यस्तै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय रोल्पा, जिल्ला आयोजना कार्यालयमा १० करोड २२ लाख ५५ हजार निकासा भएको मध्येे ९८ लाख १२ हजार ३४ रुपैयाँ ५५ पैसा फिर्ता भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जिल्ला स्वास्थ्य तथा जिल्ला अस्पताल ३५ लाख ७८ हजार बजेट निकासा भएको मध्ये ७९ हजार ५ रुपैया फिर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, नापी कार्यालय, महिला तथा बालबालिका कार्यालय, देविदत्त गण, जिल्ला शिक्षा कार्यालय रोल्पा, जिल्ला हुलाक कार्यालय रोल्पा खर्च गर्न सफल भएका छन्।
आव ०६९/०७० मा पनि ८ करोड बढी रकम खर्च हुन नसकेर फ्रिज गएको थियो। विकास बजेट शत प्रतिशत खर्च भएको अहिले सम्म कुनै आर्थिक वर्ष देखिएको छैन।