उनलाई देख्नेबित्तिकै नेपाली हुन् भनेर चिनिहालेँ। सोधिरहने झन्झटै गरिनँ। सोझै भनेँ, ‘यहाँको स्पेसल के छ?’
मैले नेपाली भाषा बोलेको देखेर उनी मुसुक्क हाँसे।
‘यो खानुस् दाइ, यहाँको स्पेसल यही हो,’ उनले मेनुको एउटा खण्डतिर हात तेर्स्याए।
खानेकुराका नाउँलाई सकेसम्म नबुझिने शब्दमा लेखिएको थियो । मैले एकचौथाइ पनि मेसो पाइनँ । उनले सिफारिस गरेपछि राम्रै होला भन्ने लाग्यो।
उनी अर्डर लिएर गए।
एकछिनमा गिलासभरि ताजा सुन्तलाको जुस टेबुलमा उभियो । त्यसलाई पछ्याउँदै परम्परागत चिनियाँ भाँडोमा थरिथरिका रङ र अनेक आकारका ममः आइपुगे । कचौरामा सुप आयो । वरिपरि हरिया सागपात उम्रिए । चिकेन रोल तेर्सिए । अनि ती सबै चिज चोब्दै खान सानो बटुकोमा गोलभेंडाको तिख्खर अचार मेरो भोक जिस्क्याउन आइपुग्यो।
खानेकुरा देखेरै मेरो जिब्रो रसायो।
...
म संसारकै एक ठूलो सपिङ कम्प्लेक्स ‘दुबई मल’को पिङपङ रेस्टुरेन्टमा छु।
दिउँसो झन्डै तीन बजेतिर लन्ज खान धुइरिएका गोराहरूले रेस्टुरेन्ट भरिभराउ छ । हामीले बल्लतल्ल ठाउँ पायौं । चिनियाँ स्वादका लागि लोकप्रिय यो दुबईकै स्तरीय भोजन–गन्तव्यमा गनिँदो रहेछ । यसको श्रेय केही हदसम्म नेपालीहरूलाई जान्छ । यहाँ सातजना नेपाली काम गर्छन् । वेटरदेखि ‘किचन इन्चार्ज’ र ‘फ्लोर म्यानेजर’सम्म।
मैले देख्नेबित्तिकै खुट्टयाएका ती नेपाली वेटर हुन्, धर्म लामा । काठमाडौं बौद्धका लामा यहाँ काम गर्न थालेको दुई वर्ष बितिसकेछ।
‘अब तीन महिना बाँकी छ,’ सधैं हाँसिरहने लामाले मुस्काउँदै भने, ‘त्यसपछि भिसा सकिन्छ।’
‘अनि ?’ मैले सोधेँ, ‘भिसा थपिएला नि त ?’
‘अब पुग्यो दाइ दुबई बस्न, नेपालै फर्कन्छु ।’
‘लौ किन, काम राम्रो छैन ?’
उनी मेरो प्रश्नको जवाफ नदिई अर्को टेबुलतिर गए । एकछिन उतै भुले । फेरि घुमिफिरी मैकहाँ आइपुगे ।
‘काम त गज्जबै छ नि, दिनभरि एसीमा बस्न पाइया छ, गर्मी थाहै हुन्न ।’
‘अनि त ?’
‘कति बस्नु यो रेतको जंगलमा, न्यास्रो लाइसक्यो घरको ।’
यति भनेर फेरि अर्को टेबलतिर दौडिहाले ।
मलाई उनी नेपाल फर्कन आँटेकोमा एक मन खुसी लाग्यो, अर्को मन उनको योजना सुन्ने कौतुहल पनि जाग्यो ।
‘के गर्ने त नेपाल गएर ?’
‘कपडा व्यापार गर्छु, सबै मिलाइसकेको छु, अब जाने हो ।’
उनी दुई वर्षअघि भान्छे बनेर दुबई आएका थिए । सात महिनादेखि वेटर छन् । यो काममा नयाँ भएकाले उनले लाउने पोसाक अरूभन्दा फरक छ । पुराना वेटरहरू कालो टिसर्ट लगाउँछन् । उनको टिसर्टको रङ आकासे नीलो छ, जसको पछाडि लेखिएको छ– ‘डन्ट साउट एट मी, आई एम न्यू’ (मलाई नकराउनुहोला, म नयाँ छु)।
वेटरहरूले सुरुको तीन महिना आकासे रङको टिसर्ट लगाउनुपर्ने पिङपङको नियम रहेछ । तीन महिना नाघेपछि जाँच लिइन्छ । पास हुनेहरू कालो टिसर्टमा बढुवा हुन्छन् । यसमा भने धर्म अभागी ठहरिए । उनी वेटर भएदेखि जाँच लिने परीक्षक आएका छैनन् । सात महिनादेखि उनको टिसर्टको रङ फेरिएको छैन।
‘अब छिट्टै जाँच हुन्छ,’ उनले हाँस्दै भने, ‘तर के मतबल, तीन महिनामा गइहाल्छु ।’
मैले शुभकामना दिएँ ।
...
संयुक्त अरब इमिरेट्स (युएई) को आर्थिक राजधानी दुबई क्षेत्रफलका आधारमा देशकै सबभन्दा सानो राज्य हो । ठाउँ सानो भइकन पनि यसले ठूलो सपना देख्न सिकाउँछ।
झन्डै ८० प्रतिशत विदेशीले भरिएको यो ठाउँलाई अवसरहरूको खानी भन्दा फरक पर्दैन । पाँच वर्षअघिको आर्थिक संकटले यो ठाउँको सम्भावना झन्डैझन्डै समाप्त पारिसकेको थियो । यसको सबभन्दा ठूलो सूचक रियल स्टेटको विज्ञापनलाई मानिन्छ । दिनहुँजसो ५०/६० पृष्ठका रियलस्टेट विशेषांक निकाल्ने दैनिक अखबारहरूले आर्थिक संकटपछि आठ/दस पृष्ठभन्दा बढीको विशेषांक निकाल्न सकेनन्।
आर्थिक रूपमा धनी र युएईकै ८० प्रतिशत तेलखानी ओगटेको अबुधाबी राज्यले सहयोगको हात बढाएपछि अहिले आएर दुबई आर्थिक रूपमा उकासिन थालेको छ । खलिज टाइम्स, गल्फ न्यूज जस्ता दैनिक अखबारहरूमा मोटामोटा रियल स्टेट विशेषांकहरू छापिन थालेका छन्।
‘म आउँदा दुबई चरम संकटमा थियो,’ एक स्थानीय कम्पनीमा काम गर्ने स्याङ्जाका हरि अधिकारी भन्छन्, ‘त्यस बेला काम पाउन गाह्रो । बल्लतल्ल टिकेर बसेँ।’
अहिले दुबईमा एकसेएक नयाँ होटल, मानवनिर्मित टापुहरू बनिरहेका छन् । मलहरू थपिएका थपियै छन्, जहाँ काम गर्ने झन्डैझन्डै सबै विदेशी हुन् । खासगरी भारतीय, नेपाली, बंगलादेशी र फिलिपिनो । आर्थिक सुधारसँगै उनीहरूले पाउने तलबसुविधा बढेको छ । मलमा सेक्युरिटी र काउन्टरमा काम गर्नेले महिनाको औसत २ हजार दिराम (५० हजार रुपैयाँ) सम्म कमाउँछन् । खाने, बस्ने र स्थानीय यातायातको सुविधासमेत पाइन्छ।
तनहुँका सुरिन श्रेष्ठ डेयरा, दुबईको अल घोराही मलमा काम गर्छन् । स्प्ल्यास स्टोरको सेक्युरिटीमा नोकरी छ । स्टोरका म्यानेजर समेत नेपाली नै हुन् । सुरिनको मासिक आय २ हजार ५ सय दिराम (६० हजार रुपैयाँभन्दा बढी) छ । उनी महिनाको कम्तीमा ५० हजार रुपैयाँ बचाउँछन् । बस्ने व्यवस्था कम्पनीले नै गरेको छ । उनको खर्च भनेको खानामा मात्र हो।
‘काम ठिकै छ,’ उनले भने ।
‘गज्जब छ नि,’ मैले फुर्क्याएँ ।
‘गज्जब त के भन्नु, दिनको ११ घन्टा उभिएर बस्नुपर्छ ।’
‘गर्मी त खानुपर्दैन।’
‘त्यो त हो,’ उनी मेरो कुरामा सहमत भए, ‘खाली बिदा पाइँदैन।’
उनी तीन साताअघि दुबई मलमै काम गर्थे । स्प्लास स्टोरमा ‘सेल’ लागेपछि सेक्युरिटी कम्पनीले उनलाई काजमा यहाँ पठाएको हो।
‘दुबई मलमा भन्दा यहाँ काम गर्न सजिलो छ, त्यहाँ हिराको पसलमा थिएँ, हल्लिन पाइन्थेन,’ उनले भने ।
अबुधाबीको फरारी वर्ल्डस्थित इल पोडियो रेस्टुरेन्टमा भेटिएका प्रकाश गजुरेलको अनुहारमै सन्तुष्टि झल्किरहेको देखिन्थ्यो । नुवाकोटका गजुरेल इल पोडियोमा काम गर्न थालेको तीन वर्ष भयो । त्यसअघि पाँच वर्ष एउटा होटलमा थिए । थप दुई वर्ष बस्ने योजना छ ।
‘अनि कस्तो छ यहाँको लाइफ ?’ मैले सोधेँ।
‘बिन्दास,’ उनले भनेँ, ‘केही फिक्री छैन । मस्ती छ।’
...
धर्म लामा, हरि अधिकारी, सुरिन श्रेष्ठ र प्रकाश गजुरेललाई दुबईमा काम गर्ने नेपालीहरूको प्रतिनिधि पात्र मान्नु गलत हुनेछ।
उनीहरूले म्यानपावर कम्पनीहरूको हन्डर खानुपरेन । एउटा काम भनेर अर्कोमा झुलिरहनुपरेन । बढी पैसाको सपना देखेर थोरैमा चित्त बुझाउनुपरेन।
उनीहरू त्यस्ता नेपालीका प्रतिनिधि पात्र हुन्, जो विदेशको बसाइबाट सन्तुष्ट छन् । र, अब आफ्नै देश फर्केर ‘सानोतिनो’ व्यापार गर्ने सपना बुनिरहेका छन् । दुबई र अबुधाबीको घुमघाममा संयोगले मैले त्यस्ता नेपाली नै बढी भेटेँ, जो सही म्यानपावरको हातमा परेका थिए । सही काम पाए । र, सही कमाइ गरिरहेका छन्।
‘दुःख पाएकाहरू पनि यहाँ प्रशस्तै भेटिन्छ,’ हरि भन्छन्, ‘तर, राम्ररी विचार पु¥याएर दुबई आउने हो भने राम्रै काम पाइन्छ ।’ त्यसको निम्ति अंग्रेजी भाषाको सामान्य ज्ञान र मलको काउन्टरमा काम गर्ने सिप भए बेस हुने उनको भनाइ छ।
‘रोजगारको यति ठूलो सम्भावनालाई उपयोग गर्न सरकारले अलिकति बल पुर्याउनुपर्छ,’ उनको भनाइ छ, ‘सबै म्यानपावर खराब छैनन्, खराबहरूलाई पाता फर्काउनुपर्छ, बल्ल विदेश जानेहरूलाई सन्चो हुन्छ।’
नवरत्न बज्राचार्य त्यस्तै अर्का पात्र हुन्, जसलाई दुबईको बसाइ फापेको छ । बुटवलका बज्राचार्य पिङपङ रेस्टुरेन्टमा सहायक प्रबन्धक छन् । यहाँ काम गर्ने सात नेपालीमध्ये उनको दर्जा सबभन्दा माथि छ।
उनी यहाँ काम गर्न थालेको चार वर्षभन्दा बढी भइसक्यो । यो रेस्टुरेन्टको ‘फ्लोर’ हेर्ने जिम्मा उनकै छ । होटल व्यवस्थापन पढेका बज्राचार्यलाई पनि अब धेरै समय दुबईमा बस्ने मन छैन । उनी छिट्टै नेपाल फर्कने योजनामा छन्।
‘के गर्नुहुन्छ त नेपालमा ?’ मैले सोधेँ।
‘रेस्टुरेन्ट खोल्छु,’ उनले जवाफ दिए, ‘आफूलाई यसैको अनुभव छ।’
उनले आफ्नो रेस्टुरेन्टको खाका पनि कोरिसके । यहीँ काम गर्ने नेपाली ‘किचन इन्चार्ज’सँग मिलेर खोल्न आँटेको त्यस रेस्टुरेन्टको मेनु पिङपङको जस्तै हुनेछ । आन्तरिक सजावट र खानाको स्वाद पनि दुरुस्तै गर्ने उनको विचार छ । नेपाली स्वादलाई विचार गरेर केही थपघट भने गर्नेछन् । यहाँ ममःको वरिपरि विभिन्न खालका ‘सि–फुड’ पस्केजस्तो नेपालमा ममःसँग अलिकति चाउमिन, अलिकति थुक्पा, केही हरियापरिया सागसब्जी लगायत एकैचोटि सर्भ गर्ने उनको मनसाय छ।
‘ग्राहकहरू अलिअलि भए पनि एउटै मेनुमा सबै किसिमको स्वाद चाख्न चाहन्छ,’ उनले भने, ‘पिङपङले जस्तै हामी पनि थोरथोरै खानेकुराको एउटै मेनु बनाउने विचारमा छौं।’
उनले रेस्टुरेन्टको नाम पनि सोचिसकेका छन् ।
मिङमङ ।
तस्बिर माथिबाट तलः
नवरत्न बज्राचार्य र धर्म लामा
प्रकाश गजुरेल