निजी क्षेत्रको पहलमा निर्माण गर्न लागिएको बहुचर्चित हेटौंडा–कुलेखानी–काठमाडौँ सुरुङमार्गमा कुनै पनि अवरोध, बन्द हडताल, चक्काजाम नगर्ने मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन्।
एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा–माओवादीलगायत मकवानपुरका सबै राजनीतिक दलहरुले सुरुङमार्ग निर्माणमा कुनै पनि अवरोध नगर्ने प्रतिबद्धता जनाएका हुन्।
पूर्वाधार विकास कम्पनीले आज यहाँ आयोजना गरेको सर्वपक्षीय अन्तर्क्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता जनाएको हो। कार्यक्रममा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीले अबको चार वर्षभित्रमा सुरुङमार्ग निर्माण भइसक्ने बताए।
रु ३४ अर्ब रुपैयाँ लागतमा निमार्ण हुने सुरुङमार्ग २०७३ साल मङ्सिर महिनासम्म सम्पन्न हुने कम्पनीले जनाइएको छ।
सुरुङमार्ग निर्माणका लागि सबैभन्दा बढी शेयर मकवानपुरवासीले लिनेमा आफू विस्वस्थ रहेको अध्यक्ष जोसीले बताए।
आजै जिल्ला विकास समिति मकवानपुरले सुरुङमार्गको रु १० लाखको सेयर पनि खरिद गरेको छ। रासस